पाण्डेसँगको विग्रहपछि मिश्रको विवेकशिल साझामा दुईपार्टी समाहित


काठमाडौं – विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकता भएको छ। विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

उनकाअनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ । रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् । सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो । सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ ।

एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ । हाल विवेकशील साझा विवाद देखिएपछि कतिपय नेता कार्यकर्ताले राजीनामा दिएका छन् ।

प्रतिक्रिया