न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी


काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् ।

‘सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ’, उनले भने । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिए ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।

एकताबद्ध पार्टी निर्माण भएमात्र निर्वाचनमा कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उनले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताए । पार्टीका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुनलागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आम कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, कृष्णमान महर्जन, कांग्रेस काठमाडौँ महानगरपालिका-२६ का उपसभापति गणेश रिजाललगायतले पार्टीको अधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा लगेर पोख्न नहुने बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनका लागि अधिवेशनमा सक्षम व्यक्तिलाई टिकट दिनुपर्ने बताए । नेताको चाकडी गरेर टिकट लिने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया