


प्रधानमन्त्री निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बैठक बस्ने देउवाको सचिवालयले जनाएको छ।
बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्ने तयारी रहेको बताइएको छ। महाधिवेशनको मिति पटकपटक सर्दै आएकाले यसपटक पनि अन्तिम समयमा आएर सर्ने शंका उत्पन्न भएको छ ।
महाधिवेशनमा नेतृत्वको आकांक्षी र गुटका कारण सस्थापन र सस्थापनइतर समूहबीच तीव्र मतभेद छ। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए। बिहीबार सभापति देउवाले पनि आफ्नो समूहका नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।
सस्थापन र सस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेद्वार उठाउने प्रयास भइरहे पनि आकांक्षी धेरै देखिएका छन्। कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

