फलोअपः कम्पनी कमिसार पक्राउ गराइदिएको बदलामा विप्लव समूहद्वारा शिक्षक श्रेष्ठको हत्या!


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार गोली हानी हत्या गर्नुको कारण सुराकी हुनु रहेको दाबी गरेको छ।मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक श्रेष्ठलाई बिहान ७ बजे अपहरण गरेको समूहले जंगलमा लगी गोली हानी हत्या गरेको थियो।

आफ्ना कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गर्न सुराकी गरेका कारण श्रेष्ठको हत्या गरिएको विप्लव समूहले दाबी गरेको सूचना प्रहरीकहाँ पुगेको छ।

केही समयअघि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम)लाई पक्राउ गरेको थियो।

उनीहरूलाई मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई पक्राउ गर्न सूचना दिएको प्रतिशोध लिने क्रममा शिक्षक श्रेष्ठलाई हत्या गरिएको हो।

घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको थियो ।

उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरिएको थियो।

मोरङ जिल्लामा भए पनि मिक्लाजुङ क्षेत्र अति विकट र ग्रामिण रहेको छ। धनकुटा र इलामसँग सीमा जोडिने उक्त क्षेत्रमा विप्लव समूहले सैन्य तालिम समेत गराउँदै आएको बताइन्छ। 

प्रतिक्रिया