

एमाले महाधिवेशनः यी हुन सक्छन् ओलीसँग भिड्ने पात्र, ईश्वर पोखरेलको तयारी यस्तो छ
महासचिवका लागि पौडेल, पोखरेल र भुसाल मैदानमा हुने सम्भावना

काठमाडौं– नेकपा एमालेको १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औं महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भएको केन्द्रीय कमिटीको बैठकमा तलदेखि माथिसम्म नै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रस्ताव अघि सारेका थिए। तर, प्रतिस्पर्धात्मक रुपमा अघि बढेको एमाले महाधिवेशनमा सर्वसम्मतीको सम्भावना न्युन नरहेको पनि बताइन्छ।
एमाले संस्थापनइतर रहेका उपाध्यक्ष भिम रावललगायतका नेताले महाधिवेशनका केही प्रक्रिया र भएका सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरिरहेका बेला नारायणी नदी किनारको उद्घाटन र सौराहाको बन्दसत्रले कस्तो नतिजा दिन सक्ला भन्ने अनेकथरी आँकलन गरिएको छ।
७० बर्षको उमेर हद कायम गरेको एमाले विधान महाधिवेशनले यस पटक नेतृत्वमा पुनः आउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई रोकेको छैन। यसर्थ, सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएका कारण ओली फेरि पनि अध्यक्षमा उदाउने तयारीमा छन्।
तर ओलीविरुद्ध नैतिकताका लागि पनि मैदानमा उपाध्यक्ष रावल अध्यक्ष पदका लागि भिड्न सक्ने अनुमान गरिएको छ। तर उनलाई विधानले कायम गरेको बरिष्ठ उपाध्यक्षमा सहमति गराउने प्रयत्न समेत हुने बताइएको छ।
१० बुँदे कार्यान्वयन नभएको अवस्थामा असन्तुष्ट रहेका रावलले टिम बनाएर नै अध्यक्षमा उम्मेदवारी दिन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसबारेमा रावलको आधिकारिक धारणा सार्वजनिक हुन सकेको छैन।
उता बरिष्ठ उपाध्यक्षका लागि महासचिव ईश्वर पोखरेलको तयारी रहेको छ। अध्यक्षका लागि तयारी गरिरहेका उनले यस महाधिवेशनमा ओलीलाई नै सघाउने संकेत गरे पनि महासचिव पदमा नबस्ने घोषणा गरिसकेका छन्। दुई पटक महासचिव भइसकेका कारण अब उक्त पदमा नरहने उनको भनाई थियो।
उनी भन्छन्,‘दुई पटक महासचिव भइसकेपछि फेरि सोही पदमा रहने सम्भावना कम छ, त्यसभन्दा बाहेकमा हुन सकिन्छ।’ बरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मतका लागि नै पोखरेलको तयारी तिव्र छ। तर, उक्त पदका लागि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतको पनि दाबी रहने बताइएको छ।
उता महासचिव पदका लागि तीन जनाको भिडन्त हुन सक्ने बताइएको छ। ओलीले महासचिव बनाउनका लागि नै विष्णु पौडेललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए। तर उक्त पदमा उपमहासचिव घनश्याम भुसाल र सचिव शंकर पोखरेलको पनि दाबी रहने बताइएको छ।
माओवादीबाट एमालेमै रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतलाई पनि ओलीले कुनै न कुनै पदाधिकारीमा सर्वसम्मत गराउने प्रयत्न गर्ने बताइएको छ।

