
भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस
काठमाडौं – सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाको लागि राजदुत सिफारिस गरेको हो।
डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषदले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन्। राजदूत आचार्य प्रधानमन्त्री शेरबहादुर देउवासँगै बेलायत भ्रमणमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा राजदुत नियुक्त गरिएको हो। प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाँदैछन् ।
राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन्। यसैगरी परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए।



कागजपत्र |
