विद्युतीय कारोबार ऐनको दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको माग


काठमाडौँ – अनलाइन टीभी पत्रकार संघ नेपालले विद्युतीय कारोबार ऐन २०६३ को दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न गृह मन्त्रालयसँग माग गरेको छ।

विषेश गरेर कारोबार तथा दस्तावेजसम्वन्धी अपराध न्युनिकरण गर्न ल्याइएको ऐनको दफा ४७ लाई प्रहरीले दुरुपयोग गरेको संघको ठहर छ।

संघका अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अन्य अपराधमा पनि विद्युतीय कारोबार ऐन आकर्षित गर्नु गलत भएको भन्दै ध्यानाकर्षण गराएको हो।

विद्युतीय माध्यममा भइरहेका धेरै अपराधमा गोपनीयताको हक, गाली बेइज्यती र अश्लिलतासम्वन्धीलगायतका कानुन आकर्षित गर्न सकिने संघको भनाइ छ।

इन्टरनेट प्लेटर्फम अभिव्यक्तिको माध्यम भएकाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा असर नपर्नेतर्फ समेत सचेत हुनुपर्नेमा संघले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएको छ।

विद्युतीय माध्यममार्फत पत्रकारिता गर्ने क्रममा भएका कमीकमजोरी प्रहरीको क्षेत्राधिकारभन्दा प्रेस काउन्सिलको क्षेत्राधिकार भएको संघले स्पष्ट पारेको छ। पत्रकारिता र गैरपत्रकारिताकावीचमा अन्तर नछुट्याइ प्रहरीले व्यवहार गर्दा पत्रकारहरुले दुःख पाइरहेको गुनासोसमेत संघले गरेको छ।

पछिल्लो समय पत्रकारलाई नियोजित रुपमा प्रहरीले दुःख दिने, झुटा मुद्धा लगाउने कार्य गरिरहेकाले यस्ता कार्य तत्काल बन्द हुनेगरी विशेष कदम चाल्नसमेत गृहमन्त्री खाणलाई संघले आग्रह गरेको छ।

विद्युतीय अपराध दिनप्रतिदिन बढ्दै गएकाले सञ्चारकर्मीसँगै दर्शक/पाठक/श्रोतालाई साइवर सम्वन्धी सचेतना कार्यक्रम व्यापक गराउनु पर्ने, त्यसका लागि अनलाइन टीभीहरुसँगै सबै प्रकारका सञ्चार माध्यमलाई नै प्रयोग गर्न सकिने र राज्यबाट दिइने अवसर र पहुँच अनलाइन टिभीकर्मीहरुलाई पनि दिनुपर्ने माग संघले गरेको छ।

संघको मागप्रति गृहमन्त्री खाणले आफु सकारात्मक रहेको र यस क्षेत्रको विकृति न्युनिकरणका लागि सरोकारवालाहरुसँग छलफल गरेर चाँडै नै सही कदम चाल्ने प्रतिवद्धता जनाएका छन्।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा संघका वरिष्ठ उपाध्यक्ष संजिव रेग्मी, उपाध्यक्ष कुशलभ केसी, सचिव सरोज गिरीलगायत थिए।

प्रतिक्रिया