इलाममा श्रीमती, १५ वर्षे छोरी र कुकुरको एउटै चिहान, तामाङलाई प्रहरीले घेरा हालेर समात्यो


काठमाडौं – इलाममा एक जना पुरुषले श्रीमती र छोरीको विभत्स हत्या गरेका छन्। देउमाई नगरपालिका–५ का ३४ वर्षीय पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको गए राति हत्या गरेका हुन्।

जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार जोखाना हेर्ने क्रममा तामाङले श्रीमती र छोरीलाई टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

त्यतिमात्र होइन उनले आफ्नो घरमा पाल्दै आएको कुकुर समेत मारेका छन्।

तामाङ ७–८ दिनदेखि पूजा कोठामा धामी बस्दै आएका थिए। त्यसक्रममा सोमबार राति आमाछोरीको उपचार गर्ने भन्दै तामाङ धामी बसे। सुरूमा उनले सीतालाई पूजा कोठामा एक्लै लगेका थिए।

त्यसपछि उनले सीताको पेटमा टोके। सीता बेहोस भएपछि छोरी दीक्षालाई पूजा कोठामा छिराएका थिए। छोरीलाई पनि सोही प्रकारले टोकेर बेहोस पारे।

‘घाँटी थिचेको हो कि भन्ने पनि अनुमान छ, अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए।

रातभर धामी बसेर उज्यालो हुँदा श्रीमती र छोरीको मृत्यु भएको थाहा पाएपछि उनी भागे। आमाछोरीको मृत्यु भएपछि घर तथा छिमेकमा हो–हल्ला भएको थियो।

त्यसपछि तामाङ धामी बस्दाबस्दै भागेको स्थानीयले बताए। भाग्दै गर्दा तामाङलाई चारैतिरबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको हो।एसपी श्रेष्ठले भने, ‘प्रहरीले चारैतिरबाट घेरा हालेर तामाङलाई पक्राउ गरेका हौं।’

त्यतिमात्र होइन तामाङले अरु २ छोरीको पनि ज्यान लिने रहेछन्। तामाङका अन्य दुई छोरी पनि जोखाना हेर्न पूजा कोठामा छिर्ने तर्खरमा रहेको पाइएको छ। उनीहरूलाई पनि पालैपालो पूजा कोठामा लगेर जोखाना हेर्ने योजना भने विफल भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट मुचुल्का गरेर शव उठाइएको छ।

प्रतिक्रिया