

कांग्रेसलाई बदनाम बनाउन प्रधानन्यायाधीश राणासँग प्रचण्डले गरेको एउटा ‘सेटिङ’

काठमाडौं- मन्त्रिपरिषद विस्तारमा बिलम्ब हुनुको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचका अनेक चरणका अनौपचारिक वार्ताबाट सहमति निकाल्नु रहेको खुलेको छ।
सर्वोच्च अदालतमा नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नका लागि दिएको रिटपछि मात्रै यस्तो बार्गेनिङ सुरु भएको थियो। प्रतिनिधि सभाको दोस्रो पटकको विघटन बदरका बेला प्रचण्डले प्रधानन्यायाधीश राणासँग दुई मन्त्रीसहित केही अन्य सहमति गर्न सकिने प्रस्ताव कानुनकर्मी शम्भु थापा र पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठमार्फत पठाएका थिए।
प्रचण्डले प्याकेजकै प्रस्ताव पठाएको पनि खुलेको छ। संवैधानिक निकायका नियुक्ति खारेजी पनि उक्त प्रस्तावमा परेको थियो। तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भागवन्डाका आधारमा नै प्रधानन्यायाधीश राणाले ३३ प्रतिशत लिएका कारणले संवैधानिक निकायका नियुक्ति खारेजीका सम्बन्धमा भने सहमति हुन नसकेको उच्च स्रोतले जनाएको छ।
नेपाली कांग्रेसका तर्फबाट भने शेरबहादुर देउवाले यस्तो कुनै पनि प्रकारको छलफल सुरुआती चरणमा नचलाएको खुलेको छ। देउवापत्नी आरजु राणामार्फत पनि प्रचण्डले पटक–पट प्रस्ताव लगेका थिए।
सत्ता नेतृत्व गरेको कांग्रेसलाई ७ र गठबन्धनमा रहेका माओवादी, नेकपा एकीकृत समाजवादी र जसपालाई ६–६ मन्त्रालय दिने सहमति एकातिर छलफल भइरहेको थियो भने अर्कातिर प्रचण्डले अदालतमा सेटिङ मिलाउनैपर्ने भएको भन्दै देउवालाई हैरान पारेको बताइन्छ। ‘बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्डको वान टु वान बैठक धेरैपटक हुनुको कारण पनि त्यहि हो। ति बैठकमा आरजु राणा पनि सँगै बस्ने गरेकी थिइन्’, उच्च स्रोतले भन्यो।
प्रधानन्यायाधीशलाई मन्त्री पद नदिए नेकपा एकीकृत समाजवादीका सांसदमाथि अन्तिम सुनुवाई गर्दै कारबाही हुन सक्ने भनेपछि देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मन्त्री दिन तयार भएका थिए।
प्रचण्डले नेपाली कांग्रेसलाई नै भुंग्रोमा पार्नेगरी यो प्रस्ताव तयार पारेका थिए। एमाले अध्यक्ष ओलीलाई कमजोर बनाउनका लागि उनले माधवकुमार नेपाल कार्डलाई पनि अल्मल्याउनेगरी नराम्रोसँग खेलाएको उच्च स्रोतको दाबी छ।
‘मन्त्रिपरिषद विस्तार नहुनुमा देउवा मात्र दोषी छैनन्, प्रचण्डहरूले सुरुमा नाम दिएनन् तर अर्को सेटिङको तयार पनि भइरहेको थियो। जसमा देउवालाई केही समय गुमराहमा पनि राखियो’, उच्च स्रोतले भन्यो।
स्रोतको दाबीले प्रचण्डको यो रणनीति सफल भएको देखिन्छ। उनले शनिबार चितवनमा पुगेर गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट नभएर नेपाली कांग्रेसको कोटामा मन्त्री भएको दाबी गरेका थिए। जबकि, कांग्रेसका नेता डा. शेखर कोइरालादेखि गगन थापासम्मले हमाललाई प्रधानन्यायाधीश राणाका मान्छेलाई नियुक्त गरी संविधान र पार्टीको गरिमा नै ध्वस्त बनाएको टिप्पणी गरेका छन्।

