निरुताले आत्महत्या गरेको भन्दै पति गणेशको नोट– मेरो लास भेटिए सँगै जलाइदिनू

हत्या भएको केटीका परिवारको दाबी, प्रहरी भन्छ– अनुसन्धान जारी


काठमाडौं– कालीकोटका गणेश बिष्टसँग भागेर प्रेम बिबाह गरेकी बाजुराकी एक किशोरी गत मंगलबार आफ्नै कोठामा मृत फेला परिन्। बाजुराको जगन्नाथ–१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह कास्कीको पोखरा महानगरपालिका अधिकारी टोलस्थित बन्द कोठाभित्र मृतावस्थामा फेला परेकी थिइन्।

गणेश र निरुताले गत भदौ २०७७ मा प्रेम बिबाह गरेका थिए। स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि कोठाको ताला फोरेर हेर्दा निरुताको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले गत मंगलबार किशोरी निरुता कोठाभित्र मृतावस्थामा भेटिएको पुष्टि गरे।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै निरुताको हत्या गरिएको हो वा आत्महत्या भन्ने खुल्ने एसपी थापाले बताए। निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। यता मृतकका परिवारले निरुताको आत्महत्या नभई हत्या भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएको छ।

निरुताका बुबा नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका हुन्। प्रहरीका अनुसार घटनालगत्तै गणेशको मोबाइल फोन ‘स्वीच अफ’ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए पनि कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा घटनास्थलबाट मृतकका श्रीमान गणेशले लेखेको एउटा चिट (नोट) फेला परेको छ।

आफू कामबाट फर्किदा श्रीमती निरुता कोठाभित्र झुण्डिइरहेको अवस्थामा भेटेको गणेशले लेखेको नोटमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए। श्रीमतीको खुसीका लागि आफूले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेती नदीमा हाम फालेर आत्महत्या गर्ने नोटमा लेखेका छन्।

‘त्यो दिन ठेकदारसँग पैसा माग्न गएको थिएँ। कोठा फर्कंदा निरुतालाई झुण्डिएको भेटेँ र आफूले कपडाको पासोबाट छुटाएर राखिदिएँ,’ गणेशले नोटमा लेखेका छन्,‘मैले उसका लागि घर परिवार त्यागेर पोखरा आएँ। टेस्ट गर्दा बच्चा नबस्ने देखिएपछि उनी दुःखी थिइन्। अब ऊ नै नबाँचेपछि म पनि बाँच्न सक्दिनँ। मेरो शव गण्डकीमा फेला पार्नुभयो भने उसको लाससँगै जलाइदिनुहोला।’

डिएसपी हमालले पनि गणेश भने हालसम्म नभेटिएका बताए। ‘डिएसपी हमालले भने, ‘उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस विषयमा दुवै परिवारलाई जानकारी गराइसकेको र सोधपुछ भइरहेको छ।’

गणेश–निरुताको प्रेमसम्बन्ध!

उनीहरुको चिनजान कैलालीमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुको भेट भएको समयमा २७ वर्षीय गणेश दाईको घरमा बसेर ज्यामी काम गर्थे। त्यहिबेला निरुता कैलालीमा पढ्न गएकी थिइन्। उनी कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुख्खड बजारस्थित आफ्नो काकाको घरमा बस्थिन्।

प्रहरीका अनुसार भर्खरै माध्यमिक तहको परीक्षा दिने तयारीमा रहेका बेला निरुताको भेट गणेशसँग भएको थियो। भदौ २०७७ बाट उनीहरूसँगै बस्न थालेको समेत पाइएको छ। त्यसपछि पनि गणेश ज्यामी काम गर्थे भने निरुता पढ्न जान्थिन्। उनीहरु सँगै बस्थे। ११ कक्षाको परीक्षा सकेपछि सहमतिमै दुवैले भागेर विवाह गरे।

बिबाहपछि गणेशले कालीकोटकै घरमा निरुतालाई लगे। गत वैशाखमा निरुता माइतघर फर्किइन्। जतिबेला उनको शरीरभरि नीलडाम रहेको परिवारको दावी छ। निरुताका परिवारलाई उनीहरुको सम्बन्ध मन परेको थिएन। निरुतालाई सम्झाईबुझाई गरेपछि फर्किएर गणेशसँग नजाने भनेकी परिवारको दावी छ।

त्यसको केही समयपछि अचानक दुवैजना फेरि नजिकिए। फोनमा दुवैबीच कुराकानी हुन थाल्यो। ५ महिनापछि गणेशले निरुतालाई पोखरा गएर बस्ने प्रस्ताव राखे। त्यसपछि गत २ भदौमा निरुता र गणेश भागेर पोखरा गए। उनीहरु आफ्नो पहिचान लुकाएर पोखरा महानगरपालिका–१ अधिकारी टोलमा कोठा लिएर बस्थे।

तर १२ असोजमा निरुता कोठामै मृत फेला परिन्। घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै निरुताको परिवारले त्यसपछि गणेशविरुद्ध जाहेरी दिएका हुन्। तर, गणेश अहिलेसम्म कहाँ छन् प्रहरीले समेत पत्ता लगाउन सकेको छैन।

प्रतिक्रिया