राष्ट्रिय पुस्तकालयः नासिन थाले दस्तावेज, हुन सकेन भवन पुनर्निर्माण


काठमाडाैं – भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन ।

वि.स. २०७२ सालको भूकम्पले हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तक, ग्रन्थ तथा दस्तावेजहरू नासिन थालेका छन् । राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

अभियन्तासँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको बारेमा विस्तृत जानकारी समेत लिएकी छिन् । राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तकलाई अस्थाई रूपमा सुरक्षित राख्न तत्काल ठाउँ खोज्न पहल गर्ने समेत आश्वासन दिएकी छिन् । पुरानो बसपार्कमा निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्नेबारे केन्द्रीय तथा पालिका सरकारसँग छलफल गर्ने उनको भनाई छ ।

राष्ट्रिय पुस्तकालय भवनको पुनर्निर्माण हुन नसक्दा पुस्तक र अन्य ऐतिहासिक कागजात ठाउँ अभावमा बोरा–बोरामा कोचेर राखिएको छ। राष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्षसम्मका पुराना हस्तलिखित ग्रन्थहरू समेत छन् । तीमध्ये धेरैमा ढुसी र किरा लाग्न थालेको संरक्षणमा दवाब दिँदै आएका अभियन्ताले गुनासो गरेका छन् ।

प्रतिक्रिया