अफगानिस्तानबाट सैनिक फिर्तीबारे अमेरिकी राष्ट्रपति र सैन्य अधिकारीको मत बाझियो


एजेन्सी – दुई अमेरिकी उच्च सैन्य अधिकारीले गत अगस्टमा अफगानिस्तानबाट सेना फर्किनुअघि २ हजार ५०० सैनिकलाई अफगानिस्तानमै राख्न सुझाव दिएको बताएका छन्।

अफगानिस्तानबाट गत अगस्ट अन्त्यमा भएको अमेरिकी सैनिकको पूर्ण फिर्ती र त्यसक्रममा निम्तिएको गम्भीर अवस्थाबारे संसदीय सुनुवाइको क्रममा सैनिक अधिकारीले यस्तो बताएका हुन्।

जनरल मार्क मिली र फ्रान्क म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नुपर्ने सुझाव दिएको बताएका हुन्। संसदीय समितिमा दुई सैनिक जनरलले दिएको वयान र राष्ट्रपति जो बाइडेनको भनाइबीच तालमेल मिलेको देखिँदैन। राष्ट्रपति बाइडेनले अगस्ट ३१ मा आफ्ना सैनिक पूर्णरुपमा फिर्ता गर्नु पूर्व २५ सय सैनिक त्यहिँ राख्ने सुझावबारे आफूलाई याद नभएको बताएका छन्।

अमेरिकी सैनिक फिर्ताको क्रम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पकड बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो। अहिले अफगानिस्तानमा तालिबानको सरकार छ। जनरल मिलीले तालिबानले तीव्र गतिमा अफगानिस्तान कब्जा गरेको देख्दा अमेरिका अचम्मित रहेको बताए।

प्रतिक्रिया