८१ यात्रुसहित विराटनगर उडेको बुद्ध एयर २ घन्टा आकाशमा उडेर काठमाडौंमै अवतरण


काठमाडौं – ४ चालदक दल र ७७ जना यात्रुसहित विराटनगर उडेको विमानमा समस्या देखिएपछि पुनः काठमाडौंमा अवतरण गरेको छ । सोमबार बिहान विराटनगरका लागि उडेको बुद्धएयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएर भर्खरै अवतरण गरेको हो ।

विराटनगरमा अवतरण गर्न नसकेपछि आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयर फ्लाइट नं. ७०१ को जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।

आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

दुईघन्टा आकाशमा उडाइसकेपछि जहाजमा इन्धन कम गराइएपछि काठमाडौंमा पूरा तयारीका अवतरण गराइएको थियो । अवतरणका क्रममा विमानस्थलमा दमकल र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो ।

 

प्रतिक्रिया