
ताप्लेजुङमा गर्भवती प्रेमिकाको भीरबाट खसालेर हत्या, यसरी खुल्यो रहस्य
काठमाडौं – गत ८ असोजमा ताप्लेजुङको फक्ताङलुङ ३, लिमखिम बस्ने १८ वर्षीया पुष्पा तबेबुङ मृत अवस्थामा भेटिइन्। फुङलिङ ७, दोखु निगालेमाथिको पाखामा मृत भेटिएकी पुष्पाको सुनियोजित रुपमा नै हत्या भएको शंका लाग्यो।
जिल्ला प्रहरी कार्याल्य ताप्लेजुङका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) बालनर सिंह राणा आफैं अनुसन्धानमा खटिए। घटनास्थलको प्रकृति हेर्दा पुष्पाको हत्या नै भएकोमा प्रहरी समेत विश्वस्त रहेपछि अनुसन्धानमा राणा आफै खटिएका हुन्।
प्रहरीले आफन्त, परिवार र पुष्पाको साथीहरुबाट अनुसन्धान सुरु गर्यो। अनुसन्धानको क्रममा फुङलिङ नगरपालिका–१०, फुरुम्बुगढी डाँडा बस्ने वर्ष २४ का रामकुमार कार्कीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा पुष्पाको मृत्युको रहस्य खुलेको छ।
पुष्पा र रामकुमार प्रेमी÷प्रेमिका रहेको खुलेको छ। पुष्पा गर्भवती समेत रहेकी थिइन्। विवाह गरौं भन्दा नमानेको र सधैँजसो गालीगलौज गरेर मानसिक तनाव दिएपछि प्रेमिका पुष्पालाई भीरबाट खसालिदिएको रामकुमारले प्रहरीसमक्ष बयान दिएका छन्।
उनीहरुको ८÷९ महिनाअगाडि फेसबुकमार्फत चिनजान भएको थियो। फोन सम्पर्कको क्रममा प्रेमसम्बन्ध भई शारीरिक सम्पर्कसमेत भएपछि पुष्पाको गर्भमा बच्चा रहेको थियो। यी सबै घटनाक्रमले पुष्पाको ज्यान झण्डै एक वर्षअघि देखिको प्रेमीले लिएको रहस्य खुलेको छ।
योजनाबद्ध तरिकाले नै हत्या गरेको हुँः कार्की
भनेको नमान्ने र मानसिक तनाव दिन थालेपछि प्रेमिका पुष्पाको योजनाबद्ध तरिकाले नै हत्या गरेको अभियुक्तले प्रहरीसँगको बयानमा स्वीकारेका छन्। हत्या गर्ने मनसायले रामकुमारले शुक्रबार बिहान ३ बजे फोन गरेर पुष्पालाई फुङलिङ नगरपालिका–५, प्यारिज होटलदेखि केही पर सुकेटार जाने सडक बाटोमा बोलाएका थिए।
त्यसपछि रामकुमारले पुष्पालाई मोटरसाइकलमा हालेर फुङलिङ नगरपालिका ४, सेती चौतारा भन्ने स्थानमा लगी करणी गरे। त्यतिबेला पनि विवाह गरौंभन्दा नमानेपछि विवाद भएकोे, विवादको क्रममा पुष्पाले ‘तेरो इज्जत’मा दाग लगाइदिन्छु भनेपछि ढुंगाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा पुष्पा ढलेको साविती दिएका छन्।
घाइते भएर जमीनमा ढलेकी पुष्पाले नमार्न अनुरोध गरे पनि रामकुमारले साथमा बोकेको बिषादी समेत जबरजस्ती खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विषादीको बट्टाको बिर्को खोली पुष्पाको मुखमा जबरजस्ती खुवाएर भीरबाट खसाल्दिएको रामकुमारले बताएका छन्।
रामकुमारले त्यतिमात्र गरेनन्, पुष्पाको स्वीटर, चप्पल, विषादीको बट्टा र मोबाइल समेत भीरमा फालिदिए। त्यसपछि भीरबाट खसाल्दिएकी पुष्पालाई हेर्न समेत घटनास्थलमा पुगे। त्यहाँ पुग्दा पुष्पा काल्टे अवस्थामा थिइन्, जतिबेला सास समेत फेरिरहेकी थिइन्।
भीरमा फाल्दिएकी पुष्पालाई हेर्न रामकुमार फुङलिङबाट चारपाटे गाउँ हुँदै गएका थिए। कोल्टे अवस्थामा रहेको र केही सास फेरिरहेको अवस्थामा देखेपछि रामकुमारले पुनः त्यहाँबाट पनि तलसम्म खसाल्दिएका हुन्।
त्यसपछि रामकुमार डेरामा फर्किए। सोही दिन दिउँसो स्थानीयहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले उक्त शव पुष्पाको भनेर पहिचान गरेपछि अनुसन्धान सुरु भएको थियो।
मृत भेटिएकी पुष्पाको सोहीदिन अबेर प्रहरीको सर्जमिन मुचुल्कापछि शव उठाएर शवगृहमा राखिएको थियो। पुष्पाका अभिभावकले भने उनको हत्या नै भएको र हत्यारालाई पक्राउ गरी सार्वजनिक नगरुञ्जेल शव नबुझ्ने बताइरहँदा प्रहरीले अभियुक्तलाई पक्रन सफल भएको छ।
आइतबार अभियुक्त हत्यारालाई सार्वजनिक गरेपछि पोष्टमार्टमपश्चात शव बुझेर अभिभावकले लगेका छन्। पक्राउ परेका अभियुक्त रामकुमारलाई ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
