
जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक आजबाट शुरु
काठमाडौं – नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक जंगीअड्डामा बिहीबारबाट सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो । पहिलो बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।
बैठकमा सम्बोधन गर्दै देउवाले नेपाली सेनाको रणनीति तहमा सञ्चालन हुने यस किसिमको छलफलले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बन्धित विषयहरुमा साझा धारणा निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै, चुनौति सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न पनि बैठकले भूमिका खेल्नुपर्ने उनले बताए ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताए ।
यसअघि पृतनापतिहरुको सम्मेलन हुने गरेको थियो । नयाँ संरचनामा सेनाको पृतनाहरु खारेज भएका छन् । बैठक शुक्रबार सकिनेछ ।



कागजपत्र |
