विश्वप्रकाश, गगन र प्रदिपः महामन्त्रीमा निर्वाचित हुन सक्ने दुई अनुहारको लेखाजोखा
काठमाडौं– क्रियाशील सदस्यता विवादको छानबिन समितिका प्रवक्ता रहेका प्रदिप पौडेल सह–महामन्त्री पदमा महाधिवेशन मैदानमा उत्रिने तयारीमा थिए। तर जसै उनले क्रियाशील सदस्य र आउन सक्ने महाधिवेशन प्रतिनिधिको संख्याको लख काटे, महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
उनी कांग्रेसको तेस्रो धार भनिएको तर कमजोर पक्षबाटै महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छन्। कृष्णप्रसाद सिटौलाको प्यानलबाट पौडेल उम्मेदवारी दिँदैछन्। पौडेलका लागि महामन्त्री पदमा जित निकाल्न त्यति सहज छैन किनभने मैदानमा उनीभन्दा लोकप्रियता कमाएका प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगनकुमार थापा पनि छन्। कांग्रेस विधानअनुसार दुई जना महामन्त्री मात्र निर्वाचित हुनेछन्।
उक्त पदका लागि मैदानमा अन्य नेता पनि उत्रिनेछन्। उम्मेदवारी घोषणा नगरीसके पनि डा. मिनेन्द्र रिजाल, प्रकाशशरण महतलगायतका नेता मैदानमा हुनेछन्।
‘दोस्रो पुस्ताका कति लोकप्रिय नेता महामन्त्रीका लागि तयार हुन्छन् भन्नेले पनि स्पष्ट चित्र देखाउनेछ। तर, अहिले घोषणा भएका उम्मेदवार मैदानमा आए अवश्य पनि हस्तक्षेपकारी निर्णय आउन सक्छ’, कांग्रेस उच्च स्रोतले भन्यो,‘तिनले उम्मेदवारी फिर्ता नलिएको खण्डमा दोस्रो तहका नेता सभापतिबाहेकको भाइटल रोल मानिने उपसभापतिमा मात्र आउनेछन्, महामन्त्री सम्भव देखिँदैन।’
तेस्रो पुस्ताका नेताले सभापतिमा दाबी बलियोगरी नगरे पनि महामन्त्रीका लागि तिव्र तयारी छ। यसपटक कांग्रेसका महाधिवेशन प्रतिनिधि तेस्रो पुस्ताको नेतृत्वलाई स्वीकार्नेगरी नै आउने देखिन्छ।
नयाँ क्रियाशील सदस्य र तल्ला समितिहरूमा तेस्रो पुस्ताको हस्तक्षेपका कारण निर्वाचित हुने दुई महामन्त्री पनि त्यहि बिम्बका हुनेछन्। यसअर्थमा प्रवक्ता शर्मा र सांसद थापाको सम्भावना बलियो रहेको छ। यद्यपि दोस्रो पुस्ताका नेताले उम्मेदवारी घोषणा गरी कतिसम्म आफूलाई अब्बल देखाउन सक्छन् भन्ने विषयले मात्र यी दुई पात्रको जितहारमा कुन तहको असर गर्ला भन्ने अनुमान गर्न सकिन्छ।
‘कांग्रेस पंक्तिमा अघिल्लो पटक पनि महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिएका थिए। तर, जित्न सकेनन्। कांग्रेस नेतृत्वले पार्टीलाई कमजोर बनाएको निष्कर्शमा पुगेका तल्ला तहबाट आउने महाधिवेशन प्रतिनिधिले विकल्प रोज्दा नयाँ पुस्ता आउने सम्भावना अधिकतम छ’, उच्च स्रोतले भन्यो,‘यस्तोमा राम्रो छाप छाडेका र अघिल्लो आम चुनावमा पराजित भएका विश्वप्रकाश पनि आउन सक्छन्।’