


विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ

काठमाडौं – पर्सा, सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका-५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार रहेका मिश्रलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका-२ बागवानाबाट फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका मिश्रलाई पर्सा जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मकवानपुर, चोरी मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक छतिवन गाबिस-४ बस्ने ३१ वर्षीय राम बहादुर घलानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०७१ भदौ १८ गतेको फैसलाले चोरी मुद्दामा ३ वर्ष ८ महिना २३ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बकैया गाउँपालिका-४ बाट पक्राउ गरेको हो ।
यसैगरी, बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी मकवानपुर बकैया गाउँपालिका-४ बस्ने २४ वर्षीय देवेन्द्र बहादुर टुप्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत हेटौंडाको २०७७ असोज १९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ११ महिना १५ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरी चौकी हात्तिसुडे मकवानपुरबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो।
यसैगरी, चेक अनादर मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने ५९ वर्षीय श्रीराम चौलागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०७७ असोज २० गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुर पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

