भारतीय प्रधानमन्त्री मोदीका खास दूत किन आए काठमाडौं?

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डले भाजपा पूर्वमहासचिव राम माधवसँग बारम्बार सहयोग माग गरेका थिए


काठमाडौं– राजनीतिक अस्थिरताबीच अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशक (एमसीसी) अधिकारी काठमाडौंमा उत्रिएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास दूत राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस)का प्रभावशाली नेता राम माधव पनि आएका छन्।

राम माधव भारतीय जनता पार्टीका पूर्वमहासचिव हुन्। जसलाई भारतीय प्रधानमन्त्री मोदीका अति निकट रहेको मानिन्छ। हाल उनी मोदीको राजनीतिक उदय गराउने आरएसएसका केन्द्रीय कार्यकारिणी सदस्य छन्।

अर्कातिर भारतबाटै विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे पनि काठमाडौं उत्रिएका छन्। उनी विश्व हिन्दू परिषदको नेपाल च्याप्टरले गरेको बैठकमा सहभागी हुन् आएका हुन्।

राम माधव इन्डिया फाउन्डेसन थिंकट्यांकका निर्देशक पनि हुन्। गोप्य र अनौपचारिक रुपमा उनले उच्चस्तरीय राजनीतिक भेट गर्ने बताइएको छ।

५ पुस ०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालिन नेकपामा रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त कदमविरुद्ध सघाउनका लागि राम माधवलाई अपिल गरेका थिए। त्यसबेला राम माधव भाजपा महासचिव थिए।

तर भारतीय पक्षबाट राम माधवले नै प्रचण्डले माग गरेको सहयोग नहुने सिधा उत्तर दिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि मुम्बई पुगेका बेला पनि प्रचण्डले राम माधवसँग भेट्न खोजेका थिए तर समय पाएका थिएनन्। त्यसबेला महाराष्ट्रका राज्यपाल भगतसिंह कोसियारीले पनि प्रचण्डलाई समय दिएका थिएनन्।

प्रतिक्रिया