

सूर्यविनायकमा ५० शैय्याको अस्पताल शिलान्यास

भक्तपुर। भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका–८ जगातीमा निर्माण सुरू गरिएको सूर्यविनायक अस्पतालको सोमबार शिलान्यास गरेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि यो अस्पताललाई २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको सांसद बस्नेतले बताए ।
उक्त अवसरमा सांसद बस्नेतले भने, “सरकारले केही गरेन भन्नेहरुले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदै छ । ती मध्ये करिब २५० पालिकामा आज एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”
सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरि अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालु वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुने बताउदै बस्नेत नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने सरकारले तयारी गरेको भनाइ राखे ।
सूर्यविनायक नगरपालिकाले जगातीमा निर्माण गर्न लागेको अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउछ भन्दै सांसद विकास कोष र नगरपालिकाको साझेदारीमा तत्काल रु. एक करोड ५० लाखको लगानीमा अस्पताल निर्माण हुने पनि बस्नेतले बताए ।
सरकारको तर्फबाट थप दुई करोड रुपैया आउने चरणमा रहेको बताउदै तत्काल सात शय्याको आइसियू, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पतालसञ्चालनमा आउने सांसद बस्नेतले बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अस्पताल छिटो भन्दा छिटो सञ्चालनमा आउने बताइन् ।
त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालिले नेपाल सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेसनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरेको बताए ।
आजैबाट निर्माण कार्य धमाधम सुरु भएको बताउदै तत्कालका लागि अस्थायी अस्पताल भएपनि यो अस्पताल स्थायी रुपमा नै नगर अस्पतालको रुपमा विकास गरिने उनको भनाइ थियो । उनले अस्पतालका लागि तत्काल सांसद बस्नेतको सांसद विकास कोषबाट रु. ५० लाख र नगरपालिकाले रु. १ करोड गरि रु. १ करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइने बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासंग रहेको चिकित्सक र जगेडामा रहेका अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए ।

