नेकपा एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमालेले भोलि (बुधबार) बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचिब तामाङले जानकारी दिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासित आक्रोशित छ भने सत्ता गठबन्धन दलले नेकपा एमाले विभाजन गर्नकै लागि राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्दै आइरहेको छ।

एमालेको उक्त प्रतिक्रिया संसद बैठक सुचारु हुन नदिने संकेत देखिएको छ ।

गत साउन ३२ गते सरकारले संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया