न्यूयोर्कमा भीषण वर्षा र बाढी जनजीवन अस्तव्यस्त, आपतकालीन अवस्था घोषणा


काठमाडाैं – भीषण वर्षा तथा भलबाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा गरिएको छ । ट्रपिकल स्ट्रोम आइडाका कारण न्यूयोर्कसहितका क्षेत्रमा भीषणा वर्षा हुनुका साथै भलबाढी आएको हो ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले शहरमा गम्भीर मौसमी गतिविधिको प्रभाव परेको बताएका छन् । भीषण वर्षा तथा बाढीले सडकको अवस्था नाजुक बनाएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरुमा बाढी सवे स्टेशन तथा मानिसका घरमा पसेको देखिन्छ ।

बाटोमा पानी खोलाको रुपमा बगेको देखिएको छ। छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको छ । त्यहाँ एकजनाको ज्यान गएको उल्लेख छ । न्यू जर्सीमा आएको टोर्नाडोका कारण कम्तीमा ९ घरमा क्षति पुगेको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ । न्यूयोर्क प्रहरीले स्थानीय बासिन्दालाई सकेसम्म बाटो भन्दा पर बस्न आग्रह गरेको छ । अधिकांश सबवेहरु बन्द भएका छन् । न्यूयोर्क र न्यू जर्सीका अधिकांश रेल तथा विमान सेवा अवरुद्ध छन् ।

प्रतिक्रिया