ठेकेदारको चरम लापरबाहीः तीजको ‘सपिङ’ गरेर फर्किएका चार दिदीबहिनीले गुमाए ज्यान


दाङ – दाङको लमही–घोराही सडकखण्डस्थित सिस्नेखोलाको पुल निर्माणको काम समयमा सम्पन्न नहुँदा भयानक दुर्घटना भयो। सायद कसैले पनि सोचेका थिएनन् होला उक्त खोलाले त्यति ठूलो दुर्घटना निम्त्याउला? बुधबार राती सिस्नेखोलाले कार बगाउँदा चार जना महिलाले ज्यान गुमाउनु पर्यो ।

पुल निर्माणको काम करिब–करिब अन्तिम चरणमा छ। तर, पछिल्लो लामो समयदेखि काम नै नहुँदा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणमा चरम ढिलाई र लापरबाही भएपछि ती चार महिलाहरुले अकालमै ज्यान गुमाउनुपरेको दाङ प्रहरीको भनाइ छ।

नेपालगञ्जबाट घोराही दाङ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो। पुल नभएपछि चालकले उर्लिएकै खोलामै कार हालेका थिए। उर्लिएको खोलाले कार बगायो, त्यसमा सवार चार महिलाले ज्यान गुमाए, गम्भीर घाइते भएका चालकको उपचार भइरहेको छ।

दाङमा निर्माणाधीन पुलको काम समयमा सम्पन्न नहुँदा नागरिकको अकालमा ज्यान जाने गरेको छ भने कैयौंले सास्ती भोग्न बाध्य छन्। पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभीका साईट प्रतिनिधी यज्ञ केसीलाई पटक–पटक लिखित र मौखिक निर्देशन दिँदा समेत काम नगरेपछि मानवीय क्षति हुन पुगेको स्थानीय प्रशासनले जनाएको छ।

गत २८ असारमा पुल निर्माणस्थलमै केसीलाई उपस्थित गराएर दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङले एक महिनाभित्र पुलमा गाडी सञ्चालन गर्न सकिने प्रतिबद्धता जनाएको फोटो फेसबुकमा अपलोड गरेका थिए। जतिबेला सिडिओ कुरुम्बाङको सर्वत्र प्रशंसासमेत भएको थियो।

घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने उक्त खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर जेभीका प्रतिनिधि केसीसहितको पुलको फोटो हालेपछि समयमै पुल बन्ने कुरामा आशावादी बने। किनकी त्यो पुलले निकै सास्ती दिएको थियो। कुरुम्बाङले उदाहरणीय कार्य गरेको भन्दै यो पुल एक महिनाभित्रै बन्नेमा सबै निर्धक्क थिए।

तर, दुई महिना पुग्नै लाग्दा पनि पुल निर्माणको काम एकरती पनि अघि बढेन। फलस्वरुप बुधबार राति निकै दुःखद घटना हुन पुग्यो । त्यतिबेला पुल समयमै निर्माण गर्ने प्रतिबद्धता जनाएका केसीलाई यतिबेला भने दण्डित गर्नुपर्ने अवस्था आएको छ।

‘केसीलाई सम्झौताअनुसार पुल निर्माणको काम छिटो गर्न मैले पुल बनिरहेको ठाउँमै पुगेर सचेत तुल्याएको थिएँ,’ सिडिओ कुरुम्बाङले भने, ‘उहाँलाई मैले सम्झौताअनुसार पुल निर्माणको काम छिटो पूरा गर्न भनेको थिएँ, तर उहाँ उल्टै फरार हुनुभयो ।’

सिडिओको निर्देशनलाई अवज्ञा गरेर हिँडिरहेका केसी फरार भए, काम गर्न टेरेनन्। त्यसपछि २५ साउनमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र काट्दै निज केसीलाई पक्राउ गरेर दाङ प्रशासनमा उपस्थित गराउन सिडिओ कुरुम्बाङले निर्देशन दिए। त्यसपछि झनै उनी लुकेर बस्न थाले, प्रहरीले खोजेपनि उनलाई भेटाउन सकेन।

केसीविरुद्ध पक्राउ पुर्जी जारी गर्नुअघि भेटेर सचेत गराइए पनि नटेरेको सिडिओ कुरुम्बाङ बताउँछन्। ‘निर्माणस्थलमा गएर ठेकेदारलाई सचेत गराएको थिएँ, तर उल्टो काम गर्न छाडेर भागेर हिँडिरहे। समयमा काम नहुँदा आज चार जनाले अनाहकमा मृत्युवरण गर्नुपर्यो।’

यो बीचमा निर्माण कम्पनीले कुनै पनि काम नगर्दा बुधबार रातीको घटना घटेको सिडिओ कुरुम्बाङ बताउँछन्। ‘पुलको दुवै तर्फको सडक जोड्ने भागमा मात्रै काम बाँकी छ। तर, निर्माण कम्पनीले काम नगर्दा गाडीहरु खोलाबाट पार गराउनुपर्ने बाध्यता रहेको छ’, सिडिओ कुरुम्बाङले भने ।

यस घटनापछि पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रजिअ कुरुम्बाङले निर्देशन दिएका छन्। प्रजिअ कुरुम्बाङ्ले बाँके प्रहरीलाई अहिले पनि पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन्।

अहिलेसम्म निर्माण कम्पनीको कुनै पनि प्रतिनिधि सम्पर्कमा समेत नआएको कुरुम्बाङले बताए। ‘हामी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी र त्यसका प्रतिनिधिलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्नेछौं,’ प्रजिअ कुरुम्बाङले भने।

 

तीजको सामान किन्न भारत गएका थिए

तीजका सामग्री किनमेल गर्ने भनि चालकसहित पाँच जना कार रिजर्भ गरेर भारतको रुपैडिया गएका थिए। सामान किन्दा–किन्दा रुपैडियाबाट फर्किने क्रममा रात परिसकेको थियो। राती १० बजे सिस्नेखोला पुगे। महिलाहरुको महान पर्वका रुपमा लिइने तीज मनाउन सामान ल्याएर फर्किदै थिए। तर, उनीहरुको तीज मनाउने सपना चकनाचुर पार्यो ‘सिस्ने खोलाले।’

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बुधबार राति खोला ठूलो आएको थियो। ‘ठूला सवारी साधनहरु आवतजावत गर्न सक्ने भएपनि साना सवारीसाधनहरु आवतजावत गर्न सक्ने अवस्था थिएन,’ उनले भने ।

अन्ततः सोही खोला पार गर्ने क्रममा उनीहरू सवार कार पनि बग्यो। चालक हाम फालेर बाँच्न सफल भए। तर, अन्य चार महिलाको मृत्यु भयो। मृत्यु हुनेमा दुई जना एकै घरका दिनीबहिनी हुन्।

खोलाले कार बगाउँदा घोराही उपमहानगर–१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१५ की ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको अकालमै ज्यान गएको प्रहरीले जनाएको छ। सुशीला र राधा दिदीबहिनी समेत हुन्।

उनीहरु घोराही उपमहानगरपालिका–१६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन्। जगतका दुई जना मात्रै छोरी थिए । उनीहरु दुवै जनाको विहे भइसकेको थियो। जेठी छोरी सुशीलाका सन्तान छैन भने कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा रहेको वडासदस्य खीमा घर्तीले जानकारी दिइन्।

कार चालक घोराही–१३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक पुनको भने घटनास्थल भन्दा डेढ किलोमिटर तल दायाँ खुट्टा भाँचिएको अवस्थामा उद्धार गरिएको थियो ।

खोलाले बगाएकामध्ये २ जनाको शव झन्डै तीन किलोमिटर तल घोराही–१७ बेलभार भन्ने ठाउँमा फेला परेको हो। र, २ जनाको कारमै भेटिएको प्रहरीले जनाएको छ । मृतकमध्ये दुईजनाको बुधबार राती नै र अन्य दुई जना आज बिहान मृत फेला परेका हुन्।

शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

तस्बिरः कुलदीप न्याैपाने

प्रतिक्रिया