न्यूरोडमा भ्यान घेरेर ड्युटीमा रहेका प्रहरीमाथि एउटा समूहले मुक्का बर्षायो

भिडिओ सार्वजनिक भएपछि हातपात गर्नेको पहिचान खुलेको दाबी


काठमाडौं– ११ भदौमा न्यूरोडको पिपुल्स प्लाजा अगाडि रोकिराखेको प्रहरी भ्यानभित्र रहेका चालकमाथि कुटपिट भएको छ। ८–९ जनाको समूहले कपाल तान्नेदेखि, मुखमा लगाएको मास्क खोलेर ती प्रहरीलाई मुक्का हानेका छन्।

घटनाको ५ दिनपछि ड्युटीमा खटिएका प्रहरीलाई मुक्का हानेको भिडिओे सार्वजनिक भएको छ। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र रहेका चालकमाथि उक्त समूहले मास्क खोल्नेदेखि मुक्काले हानेको ४ मिनेट २७ सेकेन्डको भिडिओेमा देखिन्छ।

गाडीबाहिर फिल्डमा खटिएका कमाण्डर भने उक्त समूहलाई रोक्ने प्रयास गर्दागर्दै अर्काले फेरि पिट्छन्।

प्रहरीलाई नटेरेका उक्त समूहले घेरेरै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हानेका छन्। ‘ठूला कुरा गर्ने? फोटो खिच्ने?’ भन्दै जंगिन्छन्। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गरेको भिडिओेमा देख्न सकिन्छ।

त्यतिबेलासम्म पनि फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन खोजिरहेका छन्। ‘सिपाही भएर बढ्ता हुनेु भन्दै उनीहरुले प्रहरीलाई फर्कि–फर्की कुटपिट गरिरहन्छन्। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ।

उनीहरु पनि ती युवाहरुको जमातको अगाडि केही लाग्दैन। त्यतिमात्र होइन, उनीहरुले ‘तेरो एआईजी हरि पाललाई बोला’ समेत भनेका छन्। पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन्। ती युवाहरुको पहिचान भइसकेको र कारबाहीको दायरामा ल्याउन निर्देशन दिइसकेको एआईजी पालले बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ड्युटीमा रहेको प्रहरीमाथि त्यसरी मुक्का हान्ने समूहको पहिचान भइरहेको र छिट्टै बाहिर ल्याउने तयारी छ। जोसुकै भएपनि उनीहरुलाई कारबाहीको दायरामा ल्याइने एसएसपी सिंह बताउँछन्।

प्रतिक्रिया