

प्रयोगविहीन आनीछोइङ डोल्मा फाउण्डेशनले उपलब्ध गराएका भेन्टिलेटर

झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।
दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । ‘नगर अस्पताल निर्माण भइरहेको छ’, उनले भने, ‘जनशक्ति र भौतिक संरचना अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन’, उनले सुरक्षित अवस्थामा भेन्टिलेटर राखिएको बताए ।
अर्जुनधारामा रहेको भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा छ । अर्जुनधारामा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको पहिलो लहरका बेला स्वास्थ्य सेवा विभागले दिएको एक थान ‘पोर्टेबल’ भेन्टिलेटर उपलब्ध गराएको थियो । फाउण्डेशनले दिएको एक थान र विभागको एक गरी दुई थान भेन्टिलेटर रहेको नगर स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिए ।
एक थान शनिश्चरे अस्पतालमा र एक थान आइसोलेशन सेन्टरमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको उनले बताए । ‘भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ’, उनले भने, ‘तर सञ्चालनका लागि पर्याप्त जनशक्ति छैन ।’ भेन्टिलेटर सञ्चालनका लागि एक मेडिकल अधिकृत र एक नर्सिङ स्टाफलाई तालिम दिइएको छ । दुई जनशक्तिले मात्र दुईवटै भेन्टिलेटर सञ्चालन गर्न नसकिने उनले बताए ।
कतिपय अस्पतालमा भेन्टिलेटर अभावमा कोरोना भाइरसका मात्र नभई अन्य बिरामीको उपचार गर्न सकस भइरहेका छ भने जनशक्ति र भौतिक संरचनाको अभावमा सरकार एवं दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।

