छुटे पूर्वगृहमन्त्री ‘बादल’का भाइ नरेश


तस्बिरः पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनका भाई नरेश थापा।

काठमाडौं – डेढ वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन्। थापा सोमबार डिल्लीबजार कारागारमा कैद सजाय पूरा भएपछि रिहा भएका हुन्।

२७ माघ २०७६ मा उच्च अदालत पाटनले थापालाई आपराधिक लाभका कसूरमा १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। अदालतले तोकेको कैदसजाय भुक्तान गरि थापा रिहा भएका हुन्।

व्यापारीलाई धम्क्याएर रकम असुलीमा सक्रिय समूहमा संलग्न रहेको आरोपमा थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आपराधिक लाभको कसूरमा पक्राउ गरेको थियो। उनी १९ फागुनदेखि डिल्लीबजार कारागारमा थिए।

थापालाई सुरुमा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालत पाटनले सोही मुद्दामा सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएर धरौटी खारेज गरिदिएपछि थापा जेल गएका हुन्।

आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए।

१ असोज २०७६मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन्।

तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको १३ असोज २०७४ मा गोली हानी हत्या भएको थियो। गौचनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका समीरमान बस्नेत अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन्।

जतिबेला समिरमानकै समूहसँग थापाको कनेक्सन देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यसपछि प्रहरीले थापालाई पक्राउ गरेर मुद्दा चलाएको हो।

भाई नरेश पक्राउ पर्दा बादल गृहमन्त्रीको जिम्मेवारीमा थिए। तर, उनले त्यतिबेला भाईको विषयलाई लिएर एक शब्द पनि बोलेनन्।

प्रतिक्रिया