

कर्णाली प्रदेश मन्त्री कुर्मराज शाहीले बलात्कार गरेको भिडिओ प्रहरीकहाँ पुग्यो
पूर्वस्वकीय सचिवकी पत्नीमाथि माधव नेपाल पक्षका नेताले गरे जबरजस्ती करणी!

काठमाडौं– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले महिलालाई बलात्कार गरेको भिडिओ प्रहरीकहाँ पुगेको छ। पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका बेला भिडिओ पनि प्रमाणका रुपमा लगेका थिए।
भिडिओसमेत हेरेका प्रहरीले मुद्दा दर्ताको हदम्याद नाघेका कारण कानुन व्यावसायीसँग परामर्श गरी आउनका लागि सुझाव दिएको थियो।
भिडिओमा पीडित महिला कोठाभित्र बसेका बेला ढोका ढकढकिन्छ। ढोका खोल्नासाथ भित्र पसेर खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले महिलालाई अँगालोमा बेरेपछि महिला रुन्छिन्, मन्त्री शाहीले सम्झाउन खोजेको भिडिओको विवरण सतहमा खुलाइएको छ।
०७६ मा भएको उक्त प्रकरणका बेला शाही प्रदेश सांसद रहेका थिए। पीडित महिला उनका तत्कालिन स्वकीय सचिवको पत्नी भएको बताइएको छ। मन्त्री शाहीसँग पैसाको बार्गेनिङमा कुरा नमिलेपछि भिडिओ लिएर पीडित प्रहरीसम्म पुगेको अनुमान गरिएको छ।
गएको शुक्रबार मध्यरातमा भेरी पुलमा पीडित महिलाका पतिमाथि आक्रमण भएको थियो। पीडित महिलाका अनुसार पतिलाई मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले राति ९ बजे गाडीमा राखेर लगेका थिए।
पीडित महिलाका पति अहिले सम्पर्कविहीन रहेको बताइन्छ। उनी सम्पर्कमा नआउन्जेलसम्म बलात्कारबारे केही पनि नबोल्ने पीडित महिलाको भनाई रहेको विवरणमा उल्लेख छन्। मन्त्री शाही नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा थिए। कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेका कुर्मराज शाहीलाई मन्त्री पद पुरस्कारमा दिइएको थियो।

