घर नक्सा पास अब अनलाइनबाटै
चितवन – भरतपुर महानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ । भूकम्प प्राविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयाेगमा महानगरले घर नक्सा सफ्टवेयर (अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल) प्रयाेगमा ल्याएसँगै अनलाइनबाट घरको नक्सा पास गर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।
याे सफ्टवेयर प्रयाेग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । यसपछि महानगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।
शुक्रबार महानगरमा एक कार्यक्रमका बीच अनलाइन भवन निर्माण अनुमति प्रक्रियाको सफ्टवेयर उद्घाटन गरिएकाे छ । साे अवसरमा बाेल्दै मेयर रेनु दाहालले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिनसक्ने वातावरण बनाउँदै लगेको बताइन् ।
सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरु अगाडि बढेको उनको भनाइ थियो ।भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले करीब २० लाख खर्च लाग्ने सो सफ्टवेयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको हाे ।
सुरक्षित सहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफ्टवेयरले महत्वपूर्ण भूमिका खेल्ने भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताए ।