दार्चुला तुईन प्रकरण: महाकाली नदीको सीमासम्म अनुसन्धान गर्न छानबिन समितिको म्याद सात दिन थपियो


काठमाडौं- सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ ।

उक्त घटनाको यथार्थ छानबिन गरी १० दिन भित्र सत्य तथ्य रिपोर्ट पेस गर्न समितिलाई जिम्मेवारी दिइएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थल्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका- २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए।

महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । यो घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ ।

प्रतिक्रिया