

लुम्बिनीमा गठबन्धनका सांसदलाई होटलमा राखियो

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार विशेष अधिवेशन बस्दैछ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने पूर्व सन्ध्यामा नयाँ सरकार गठनको प्रयास गरिरहेको विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई लुम्बिनीस्थित एक होटलमा राखेको छ । सोमबार नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कपिलवस्तुको वाणगंगास्थित राजापानी थारु रिसोर्टमा राखेको थियो ।
विपक्षी गठवन्धनका सबै सांसदलाई जम्मा गरेर भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले लुम्बिनीमा भेला भएको नेपाली कांग्रेसका एक सांसदले बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ता पक्षले यसअघि पनि आर्थिक लेनदेन र मन्त्री पदको प्रलोभनमा पारेर अन्य दलका सांसदलाई आफूतिर तान्ने प्रयास गरेको पुष्टि भएकाले आफ्ना सांसदलाई सुरक्षित राख्न आवश्यक भएको बताए । ८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भन्दै सत्ता पक्ष सर्वोच्च अदालत पुगेको छ । सत्ता पक्ष अदालत पुगे पनि विशेष अधिवेशन नरोकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

