

मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित २२ मन्त्री, ३ राज्यमन्त्री हुने, माओवादी र जसपालाई कति?
माधव नेपाल समूह सरकारमा गएन, नियुक्तिमा बढी भन्दा बढी भाग

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषदमा २५ सदस्य हुने सहमति सत्तारुढ गठबन्धनले गरेको छ। जसमा २२ मन्त्री र ३ राज्यमन्त्री रहनेछन्।
सत्तारुढ गठबन्धनको विहीबार भएको बैठकमा प्रधानमन्त्रीसहित कांग्रेसले ८, माओवादी केन्द्रले ७ र जनता समाजवादी पार्टीले ७ मन्त्रालय पाउने सहमति भएको बताइएको छ।
गठबन्धनमा रहेको माधवकुमार नेपाल समूह भने सरकारमा सहभागी नहुने भएको छ। उक्त समूहका लागि भने राजनीतिक तथा संवैधानिक नियुक्तिमा बढी भन्दा बढी भाग दिने बताइएको छ।
यसअघि गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको थियो।
अहिले सरकारमा प्रधानमन्त्री देउवाले गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन्।
अब १९ जनालाई मन्त्रिपरिषदमा नियुक्त गर्न बाँकी छ।

