

विप्लव नेतृत्वका अर्थविभाग प्रमुखसहित दुई पक्राउ, रिहाईको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पक्राउ परेका आफ्ना दुई कार्यकर्ताको रिहाइको माग गरेका छन् । प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई विनाशर्त रिहाइको माग गरेका हुन् ।
‘२०७७ मङ्सिर ५ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य क। प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य क। सञ्जीव नेपाली ‘सुवर्ण’ अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट केपी वली सरकारको रामबहादुर थापा गृह प्रशासनले दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरी हिजो दिनभरि बेपत्ता पार्यो,’ भनिएको छ ।
यसअघि प्रहरीले ती विप्लव नेतृत्वका ती दुई जनालाई नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता प्रकाण्डले पुष्टि गरेका थिए ।
विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।


