डगलसको पुस्तक शग्गी बेनलाई बुकर पुरस्कार


न्यूयोर्क(एजेन्सी)– न्यूयोर्कमा बस्दै आएका स्कटलेण्डका लेखक डगलस स्टुअर्टले सन् २०२० को ‘बुकर पुरस्कार’ जितेका छन् । उनले आफ्नो पहिलो उपन्यास ‘शग्गी बेन’का लागि यो पुरस्कार जितेका हुन् । पुस्तकको कथामा ग्लासगोको पृष्ठभूमि छ । दुबईमा बस्ने भारतीय मूलकी लेखिका अवनी दोशीको पहिलो उपन्यास ‘बर्टंट शुगर’ पनि यो पुरस्कारको सूचीमा मनोनित भएको थियो । सूचीमा उनीहरुसहित ५ मनोनयनमा थिए ।

‘मलाई विश्वास नै छैन । शग्गी एक काल्पनिक किताब हो । तर किताब लेख्न मलाई निकै चुनौतिपूर्ण थियो’, पुरस्कार विजेता डगलसले भनेका छन्, ‘यो किताब मैले मेरी आमाप्रति समर्पित गरेको छु ।’

४४ वर्षे लेखक १६ वर्षको रहँदा उनकी आमाको अत्याधिक मदिरा सेवनका कारण निधन भएको थियो । लण्डनको रोयल कलेज अफ र्आट इन लण्डनबाट स्नातक गरेपछि फेसन डिजाइनमा करियर बनाउन उनी न्यूयोर्क गएका थिए ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै ‘बुकर प्राइज २०२०’को कार्यक्रम लण्डनको राउण्डहाउसबाट प्रसारण गरिएको थियो । सबै पाँचै जना लेखक एक विशेष स्क्रिनका माध्यमबाट उपस्थित भएका थिए । त्यही मौकामा अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले बुकर पुरस्कारमा प्राप्त उपन्यासहरुका बारेमा आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया