पोस्टमार्टममा खुलेन सुजिता भण्डारीको मृत्युको कारण


काठमाडौं – चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण खुल्न सकेन्। मंगलबार साँझ गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भण्डारीको हत्या वा आत्महत्या प्रमाणित गर्ने कुनै प्रमाण फेला नपरेको हो। ‘उनको शरीरमा कुनै पनि प्रकारको चोटपटक छैन्,’ पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीले बताए।

यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ। अब उनको शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण ल्याबमा हुनेछ। भण्डारीको शवनजिकै सिसाको बोतलमा पतेरो मार्न प्रयोग गर्ने विष भेटिएको प्रहरीले जनाएको छ।

अब सुजिताको भिसेरा परीक्षण हुनेछ। जसमा उनले जीवितै कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे त्यसपछिमात्रै खुल्ने प्रहरी अधिकारी बताउँछन्।

पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन। भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ।

त्यस्तै, भण्डारीको बलात्कार भएको हुनसक्ने शंका पनि पोस्टमार्टमको प्रारम्भिक रिपोर्टबाट पुष्टि भएको छैन। उनको योनीमा बलात्कार भएको कुनै संकेत देखिँदैन।

११ असारदेखि बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन्।

प्रतिक्रिया