चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा


कैलाली – यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेंलै छन् ।फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ ।

बर्षातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन शुरु हुँदा भजनीका किसानलाई समस्या भएको हो । लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ । भजनी–८ का स्थानीयवासी तुलाराम काफ्लेले लगातार वर्षा हुँदा लगाएको धान बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको बताए ।

‘बर्षातको डुबानले बर्खे धान रोप्न वञ्चित हामीले रोपेको चैते धानलाई समेत भित्र्याउन मौसमले चुनौती दिइरहेको छ’, काफ्लेले भने, ‘केही अगाडि धान रोपेका किसानहरुले भित्र्याएको धान पनि सुकाउन नपाउँदा ढुसी पर्ने अवस्था छ ।’

त्यसैगरी भजनीका जयप्रसाद ढुङ्गानाले अधिकांश किसानले धान भित्र्याउन नपाएकाले मौसमले साथ नदिए किसानहरूलाई धान भित्र्याउन निकै चुनौती हुने बताए । ‘बर्षातले बाढीको जोखिम बढ्दै गएको छ । गहिरो ठाउँमा त बाढीले छोइसकेको अवस्था छ’, उनले भने, ‘बर्षातमा धान नरोप्ने किसानका लागि चैते धान राम्रो भएको थियो । यस्तै भए खाद्यान्न कमी हुने चिन्ता पनि केही किसानमा देखिन थालेको छ ।’

वडा नं ८ सुनाफाँटाका किसान राधा ढुङ्गानाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै धान काट्ने अवस्था भए पनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गरे । ‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन हतार थियो । अहिले लगातार वर्षाले चैते भित्र्याउन नदिने हो कि भनेर डरले मन थाम्नै गाह्रो छ’, राधाले भनिन्, ‘तयारी भएको धान वर्षाअघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्न व्यस्त थियौं । वर्षा हुन थालेपछि खेतमा पानी पसिसकेको छ ।’

भजनी–३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाएका छैनन् । आजभोलि भित्र्याउने तयारीमा रहेका साउदलाई पनि बर्षातले धान थन्क्याउन रोकेको छ । ‘केही धान भित्र्याउन सफल भएका थियौँ । बढीजसो खेतमै छ’, साउदले भने, ‘भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसक्यो, खेतको धान पानीका कारण खेतमै कुहिन थालिसक्यो ।’

भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् । भजनी–१ देखि ९ सम्मका किसानले धानबाली बाढीले नोक्सान गर्ने भएकाले चैते धान बढी उत्पादन हुने भएका कारण फागुन चैतमा धान रोप्ने गरेका छन् । यो धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्षेनी किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।

प्रतिक्रिया