ओली–प्रचण्डबीच टिठ लाग्दो सम्बन्ध, नेकपा फुट्ने गम्भीर संकेतहरू यस्ता छन्
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्न सक्ने गम्भीर संकेत देखा परेको छ। अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध टिठलाग्दो बनेपछि पार्टी विभाजनको संघारमा पुगेको हो।
पार्टी विभाजनको दिशामा हिँडेको विषयमा प्रचण्डले पनि खुलासा गरेका छन्। ओलीले पार्टी विभाजनका निम्ति प्रस्ताव राखेको भनी सचिवालयका बहुमत सदस्यलाई ब्रिफिङ गरेका प्रचण्डले मिडियामा भने आफैंले केही बोलेका थिएनन्, अर्को तहका कार्यकर्तासँग पनि यस विषयमा खुलाएका थिएनन्।
तर विद्यार्थी नेतृत्वसँग उनले पार्टी विभाजनको दिशामा हिँडेको र अबको अवस्थामा पूर्वमाओवादी वा पूर्वएमालेको हिसाबले नभई नयाँ समिकरणमा विभाजन हुन सक्ने बताइसकेका छन्। यसले प्रष्ट पार्छ, नेकपा विभाजनको दिशामा अघि बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभा पुगेर आफूले कसैगरी राजीनामा नदिने र निर्वाचित अध्यक्ष भएर आएकाले पार्टी नेतृत्वबाट पनि राजीनामा नदिने अडान नागरिक सम्बोधनका क्रममा नै राखेका छन्। यसले स्पष्ट पार्छ दुवै अध्यक्ष अडानबाट टस न मस छन्।
बुधबार मात्रै विभिन्न समाचार माध्यममा नेता माधवकुमार नेपाल पक्षका भनिएका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी विभाजन भएर केही पनि नहुने बरु सरकारको नेतृत्व परिवर्तन हुने बताइसकेका छन्। यसको अर्थ सचिवालयका बहुमत सदस्य पनि ओलीको अडानलाई गिराउने पक्षमा नै छन्।
ओलीका नजिक मानिएका पूर्वसञ्चारमन्त्री तथा नेकपा सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई दुई साताभित्र कारबाही गर्ने भन्ने भएको छ भनी गरिएका ट्वीटहरू पनि अर्थपूर्ण छन्।
तर पार्टी एकता जोगाउनका निम्ति भन्दै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेललगायत पनि सक्रिय छन्। पौडेलले शुक्रबारका लागि सचिवालय बैठक डाकेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक गरेका छन्। तर, त्यो सचिवालयमा सहमति नभएको खण्डमा नेकपा विग्रह र विभाजनको बाटोतिर जाने निश्चित भएको उच्च स्रोतहरूको दाबी छ।