

सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु, ६ जना पक्राउ

मोरङ – सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु भएको घटनामा संलग्नहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ८ मा मोरङको केराबारी गाउँपालिकास्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर सोही गाउँपालिका वडा नम्बर–३ घर भएका ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागेर मृत्यु भएको थियो ।
केराबारी गाउँपालिका घर भएका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुलेको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । हत्यामा संलग्न गजेन्द्र र रुविन लिम्बुलाई प्रहरीले वैशाख ९ मा पक्राउ गरेको थियो । बुधवार थप ४ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
पक्राउ पर्नेमा केराबारी-३ घर भएका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका-१ घर भएका १९ वर्षीय विपन लिम्बु छन् । बाँसघारी खोप राष्ट्रिय वनमा शिकारीहरुले लुकाएर राखेको ४ थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । हस्तबहादुरको शव फेला परेका दिन प्रहरीले थप १ थान भरुवा बन्दुक बरामद गरेको थियो । आरोपीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

