यस्ता छन् महाधिवेशन गर्न पौडेल पक्षले कांग्रेस सभापति देउवालाई दिएका दबाब


काठमाडौं– आगामी ७ देखि १० भदौसम्म १४औं महाधिवेशन मिति तोकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नेता रामचन्द्र पौडेल पक्षले थप दबाब दिएको छ।

समीकरणको विवाद तथा कोभिडका कारण महाधिवेशन सारी आफू अनुकुलको समयमा गर्ने सोचमा रहेका देउवालाई तोकिएको मिति नटार्नका लागि पौडेल पक्षले दबाब दिएको हो।

आफूनिकट रहेका केन्द्रीय सदस्यसँगको परामर्शपछि नेता कृष्णप्रसाद सिटौलासहितको साथ लिएर पौडेलले क्रियाशील सदस्यको विवाद सकभर सबै जिल्लामा टुंगो लगाउने तर नलागे ति जिल्ला थाँती राखेर भए पनि महाधिवेशन तोकिएको मितिमा हुनुपर्ने दबाब दिएका छन्।

यसबाहेक अर्को विकल्पमा गएर भए पनि कांग्रेसको वैधानिकता जोगाउनका लागि तोकिएको मितिमा महाधिवेशन हुनैपर्ने पौडेल पक्षको अडान छ। त्यसका लागि १३औं महाधिवेशनका प्रतिनिधिमार्फत पनि गर्न सकिने पौडेल पक्षले विकल्प राखी देउवालाई ज्ञापन नै बुझाउने तयारी गरेका छन्।

संस्थापनलाई पराजित गर्दै यहि मौकामा सभापति निर्वाचित हुने रणनीतिअनुसार पौडेल कस्सिएका छन्। उनले आफू पक्षका जिल्ला सभापतिको राय लिने तयारी पनि गरेका छन्।

पौडेल निकट एक नेता भन्छन्,‘तोकिएको मितिमा नै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो अडान हो। दायाँबायाँ गरेर सार्ने कोशिश गरे पार्टीको वैधानिकतामा पनि प्रश्न आउनेछ।’

प्रतिक्रिया