भेरी अस्पताल प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन, ‘दुर्भाग्यपूर्ण घटना, कार्यान्वयनको अपेक्षा’


बाँके – नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङमा आफन्तको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणका बारेमा प्रतिवेदन बुझाइएको छ ।

स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिले तोकिएको जिम्मेवारी पूरा गरी सोमबार समयमै प्रमुख जिल्ला अधिकारीलाइ प्रतिवेदन बुझाएको हो । कार्यदलले प्रतिवेदन कार्यान्वयन भएमा अस्पतालहरुमा सुधार हुने अपेक्षा गरिएको बताएको छ ।

जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए १३ गते राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए ।

उक्त अवसरमा मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो। बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको बताएका थिए ।

 

प्रतिक्रिया