

छोरासँग मिलेर देबरको हत्या, पहिला तीनै देबरसँग मिलेर श्रीमानको हत्या

काठमाडौं – शुक्रबार भारत मध्यप्रदेशको राजधानी भोपालमा खोला किनारमा सुँगुरले खाइरहेको अवस्थामा प्रहरीले एक पुरुषको शव फेला भेट्यो। त्यसरी बेवारीसे अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गर्यो।
अनुसन्धानको क्रममा प्रहरीले ती युवकको नाम मोहन रहेको पत्ता लगायो, मोहन भोपालको कोलार इलाकाका बासिन्दा रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि थप अनुसन्धानमा जुट्यो।
अनुसन्धानको क्रममा ती युवक आफ्नो भाउजु र भतिजासँग बस्दै आएको खुल्यो। र, सोधपुछका लागि भाउजुलाई प्रहरीले हिरासतमा लियो।
यतिबला प्रहरी सोधपुछको क्रममा ती महिलाले दिएको बयानले प्रहरीलाई नै आश्चर्यचकित बनाएको छ। प्रहरीसँगको बयानमा ती महिलाले आफ्नो देवरको हत्या गरेको स्विकारेकी छन्।
त्यतिमात्र होइन उनले तीनै देवरसँग मिलेर ५ वर्ष पहिले आफ्नै श्रीमानको पनि हत्या गरेको बयान दिएकी छन्। प्रहरीले महिलाको बयानअनुसार सोधखोज गर्ने क्रममा जमिनमा गाढिएको कंकाल समेत फेला पारेको छ।
देवरसँग प्रेमसम्बन्धमा रहेकी ती महिलाको योजनामा नै श्रीमानको हत्या गरेर शव आफ्नै घरमा गाडेका थिए। महिलाको भनाइको आधारमा प्रहरीले शनिबार राति भुँइमा गाडिएको कंकाल बरामद गरेको छ जसलाई पोस्टमार्टमको लागि पठाइएको छ।
श्रीमानको हत्यापछि उनीहरु सँगै बस्दै आएका थिए। पछिल्लो समय महिला र मोहनबीच विवाद बढ्न थालेको थियो। युवकको शव महिलाका छोराले खोला किनारमा लगेर फ्याँकेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

