

सभामुख सापकोटाले चाल्छु भनेको ‘असाधारण कदम’ के होला?

काठमाडौं– सभामुख अग्नी सापकोटाले कानुन व्यावसायीसँग परामर्श गरेपछि प्रतिनिधि सभा विघटनका सन्दर्भमा असाधारण कदम चाल्ने प्रतिक्रिया दिएका छन्।
पूर्वसभामुखहरुसँग समेत परामर्श गरेपछि कानुन व्यावसायीसँग सल्लाह लिएका सापकोटाले भनेको त्यो असाधारण कमद के होला? एक जना कानुनका जानकार भन्छन्,‘उहाँमा प्रतिनिधि सभाको बैठक बोलाउन सक्ने अधिकार छ। कुनै पनि बेला बोलाएको खण्डमा त्यसलाई असाधारण भनेको हुनुपर्छ।’
उच्च स्रोतका अनुसार सभामुख सापकोटाले बैठक बोलाउनका लागि तयारी पनि गरेका छन्। प्रतिनिधि सभा विघटनका विषयमा जानकारी नपाएको तथा सदनको सार्वभौम अधिकार र त्यसको सञ्चालनको जिम्मेवारी पाएको आफूलाई थाहा नै नदिई भएका परिघटनालाई उल्लेख गर्दै उनले बैठक बोलाउन लागेका हुन्।
तर सर्वोच्च अदालतमा पुनःस्थापनाका लागि मुद्दा परेको र बहस भइरहेको विषयमा सभामुख सापकोटाले सदन बैठक बोलाउन सक्लान्?
एक कानुन व्यावसायी भन्छन्,‘सभामुखले अदालतमा चलिरहेको प्रतिनिधि सभा विघटनकै मुद्दालाई छिचोलेर बैठक बोलाउन सक्ने आधार छैनन्। बोलाएको खण्डमा अदालतको मानाहानी गरेको पनि ठहर हुनेछ।’
नेपालको संविधानमा पनि प्रतिनिधि सभा बैठक बोलाउने अधिकार सभामुखलाई छैन। खासगरी मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपतिले मात्र सदनको बैठक बोलाउने र अन्त्य गर्ने संवैधानिक प्रावधान छन्। उच्च स्रोतले भन्यो,‘व्यवाहारिक पाटोमा कमजोरी भए भन्ने तर्क एउटा रहला तर प्रक्रियालाई कसैले पनि उल्लंघन गर्न सक्तैन। जुन विषयका व्यवाहारिक पक्षमा भएका कमजोरीका विषयमा अदालतमा मुद्दा त चलिरहेकै छ।’

