

पार्टी केन्द्रको निर्देशन अवज्ञा, एमाले संसदीय दलको निर्णयले तत्काल जोगियो त्रिलोचन भट्टको सत्ता

कैलाली– नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गर्दै एमाले स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको छ। कोरोना महामारीमा एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए।
यो निर्णयसँगै संकटमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता तत्कालका लागि जोगिएको छ।
जनताको जिउँधनको सुरक्षा, ज्यान बचाउने कुराहरू पहिलो प्राथमिकतामा राखेर महामारी निण्न्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गर्ने र तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय भएको उनले बताए।
उनले दीर्घकालीन रूपमा सबै राजनीतिक दलहरूसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि पनि संवाद थाल्ने निर्णय भएको मन्त्रीको भनाई छ।
‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरूलाई फिर्ता गरेर सरकार बन्न सक्ने अवस्था नरहेको र बजेट पनि १५ जेठभित्र ल्याउनु पर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ,’ उनले भने।
उनले अहिले यही सरकार भए पनि पछि एमालेको सरकार बनाउन पहल गर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै निर्देशन दिइएको थियो।

