

अन्तिम अवस्थामा भिम रावलको त्यो एउटा ढिपी एमाले विभाजनको बिऊ

काठमाडौं– एमालेभित्रको आन्तरिक विवाद मिलाउनका लागि गरिएका प्रयत्नबीच नेता भिम रावलको एउटा ढिपीका कारण एमाले विभाजनको बिऊ रोपिएको खुलासा भएको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाके पनि एउटा शर्त थियो– हस्ताक्षर सर्वोच्च अदालत नपुगोस् कारबाही गरिनेछैन, अन्य विवाद मिलाउँदै जाउँला, कार्यदल बनेकै छ।
यस विषयमा नेता योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत जानकार थिए। बालुवाटारको उक्त सन्देश रावललाई पुगे पनि हस्ताक्षर अदालत पनि लाने र ओलीले कारबाही पनि गर्न नपाउने भन्दै नेता माधवकुमार नेपालसँग ढिपी गरेका थिए।
रावलको अगुवाईमा नै हस्ताक्षर तयार भएको स्रोतको दाबी छ। ‘अन्तिम अवस्थामा हस्ताक्षर रोकिएको भए एमाले जोगिने अवस्था हुने थियो। तर, यता सहमतिका लागि कार्यदलमा वार्ता पनि जारी राख्ने, उता प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर पनि अदालत पठाउन रावलीजी उद्दत हुनुभयो’, स्रोतले भन्यो।
राष्ट्रपति विद्यादेवी भण्डारीसम्म हस्ताक्षर पुगेको विषयलाई पनि निक्कै कठोर रुपमा ओलीले नलिएको बरु अदालतमाचाहिँ विपक्षीसँग मिलेर एमाले कमजोर बनाउने काम नहोस् भन्ने आशय राखेको स्रोतको दाबी छ।
‘कार्यदल किन गठन गरेको त? यस्तै गर्नुथियो भने कार्यदलमा वार्ता किन गरेको? पहिलेका कतिपय सांसद किन नेपालसँग जोडिएनन्’, एक नेता प्रश्न गर्छन्,‘रावलजी नियतबस लाग्नुभएको थियो। उहाँलाई सुदूरपश्चिम इञ्चार्जबाट हटाएको इगो साँध्नका लागि मिल्न लागेको कुरा पनि विगार्नुभयो। उहाँ कार्यदलको नेपाल पक्षको नेतृत्वकर्ता होइन?’
ओलीले उनलाई तत्कालिन नेकपामा पनि सचिवालयमा ठाउँ नदिएको इगोलाई पनि यहिँ ल्याएर विसाएको नेताहरुको विश्लेषण छ। यसका प्रमाणका रुपमा विगतमा नेकपाभित्र भएका विवादका चरणमा रावलले गुटीय बैठकका लागि गरेका अनेक प्रकरणहरु पनि स्मरण गरिएको छ।
‘माधव नेपाल वार्ताबाट भागिरहनु भएको थिएन। न अध्यक्ष ओली भाग्नु भएको थियो। जसरी पनि एमाले एक ढिक्का बनाउने भन्ने विषयमा दुवै नेताबीच संवाद पनि चलेकै थिए। रावलजी भड्किनु भयो’, स्रोतले भन्यो।
नेपाल पक्षका सांसदको हस्ताक्षर र रिट सर्वोच्च अदालतमा पुगेपछि ओलीले ११ जनालाई कारबाही गर्ने स्थायी कमिटीमा प्रस्ताव पेस गरी निर्णय गराएका थिए। जसका कारण एमाले विभाजनको यात्रामा निस्किएको छ।

