कमला अर्थात् फिमेल ओबामा
वासिङ्टन(एजेन्सी)– अमेरिकाको पहिलो महिला, अश्वेत र भारतीय–अमेरिकी उपराष्ट्रपति बनेर इतिहास रचेकी कमला देवी ह्यारिसको एउटा तथ्य बारेमा सायदै कमैलाई मात्र थाहा होला । उनलाई अधिकांशले ‘फिमेल ओबामा’ भनेर चिन्दछन् । डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जो बाइडनले अगस्टमा कमलालाई पार्टीको उपराष्ट्रपति पदको उम्मेद्वारका रुपमा छनोट गरेको थियो ।
अमेरिकको ठूलो पार्टीको टिकटमा उपराष्ट्रपतिको चुनावमा लड्ने उनी तेस्रो महिला हुन् । यसअघि सन् २०१८ मा अलास्काकी तत्कालीन गभर्नर सारा पालिन र सन् १९८४ मा न्यूयोर्ककी सांसद गेराल्डाइन फेरारो उपराष्ट्रपति पदका प्रत्याशी थिए ।
कमला पूर्व राष्ट्रपति बराक ओबामाको सबैभन्दा नजिकको मानिन्छिन् । उनको कैयौं चुनावमा ओबामाले उनको समर्थन गरेका छन् । जसमा सन् २०१६ मा सिनेटको लागि भएको चुनाव पनि पर्दछ । राष्ट्रपति बाइडनले उनलाई पार्टीको उपराष्ट्रपति पदको उम्मेद्वारको रुपमा छनोट गर्नुको उद्देश्य पनि राष्ट्रपति ट्रम्पलाई हराउनका लागि अश्वेत मतलाई आफूतिर तान्नु पनि थियो ।
कमलाका पिता डोनाल्ड हेरिस जमैका र उनकी आमा श्यालमा गोपालन भारतको तामिलनाडुका हुन् । श्यामला क्यान्सर अनुसन्धानकर्ता र मानवअधिकारवादी थिइन् । यद्यपि कमला आफूलाई अमेरिकी नै मान्छिन् । तर उनको आमाबाबुको सम्बन्धविच्छेद पछि श्यामलाले एक्लै हिन्दू आमाको रुपमा उनको पालनपोषण गरिन् । कमलाका अनुसार उनकी आमाले अश्वेत संस्कृतिलाई अपनाइन् र दुई छोरीहरु(कमला र माया)लाई उनीहरुकै चाहना अनुसार पढाईन्, बढाईन् । उनी भारतीय संस्कृतिलाई अपनाएर र अफ्रिकी अमेरिकी जीवनप्रति गर्व गर्दै हुर्किएकी हुन् । आमा भारत आउँदा कमला आमासँगै प्रायः आउने गर्दछिन् ।
कमलाको जन्म ओकल्याण्डमा र पालनपोषण बर्कलेमा भयो । आफ्नो हाइस्कुलका दौरान उनी फ्रेन्च भाषी क्यानाडामा थिइन् । जहाँ उनी आमा मान्टियलमा मेक्ग्रिल युनिभर्सिटीमा अध्यापन गर्थिन् । उनले चार वर्ष हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कानूनमा डिग्री हासिल गरिन् । उनका पति डगलस एम्होफ पनि वकिल नै हुन् ।