नेपाललाई ‘उधारो’ उपलब्धि


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन्।

अहिलेका निम्ति एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) मा फर्कन ओली तयार हुनु नै नेपालका निम्ति उपलब्धि जस्तो देखिएको छ। तर, ओलीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने क्रममा अनुकूलता हेरेर मात्र नेपालका सर्त पालना गर्नेछन्।

तत्काल राजीनामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरू पक्षका युवा नेताहरूले पद छाड्नै नसक्ने स्थिति भएपछि ओलीसँग सहमति गरेर जानुको विकल्प नरहँदा कार्यदल बनाएर उठेका विवाद समाधान गर्ने सहमति भएको हो।

यसले गर्दा एमालेभित्रको विवादमा केही दिन मत्थर भएको छ। तेस्रो पटक प्रधानमन्त्री नियुक्ति हुने तयारीमा रहेका ओलीले तत्कालका निम्ति यी सबै विषय माने पनि पछि राजनीतिक अनुकूलता हेरेर निर्णय गर्नेछन्।

नेपाल पक्षले यसअघि जहिल्यै यो स्थिति देखिरहे पनि समयमै निर्णय गर्न नसक्दा राजनीतिक रूपमा पराजय भोग्दै आएको छ। त्यति मात्र होइन नेपालको पक्षमा रहेका धेरै नेता तथा कार्यकर्ता यो पक्षको निर्णयहीनता देखेर क्रमशः विमुख हुँदै ओलीतिर लाग्न थालेका छन्। नागरिक दैनिक

प्रतिक्रिया