

यस्तो हुन सक्छ एमालेमा अध्यक्ष ओली र नेता नेपालको मिलन विन्दु

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवाद मिलाउन अहिले दोस्रो तहका नेता सक्रिय भएका छन्।
बालुवाटारमा मिलन विन्दु खोज्ने क्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल ओलीका पक्षबाट र नेपालका पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको थियो, शुक्रबार।
समस्या समाधानमा ओली र नेपाल अडानबाट टस न मस भएपछि कार्यदलमार्फत विषयहरु टुंगो लाग्न सक्ने विन्दु भेटिएको छ। तर कार्यदलले कस्ता सुझाव दिए ओली र नेपाल मिल्न सक्लान्?
नेपाल पक्ष एमाले ब्युँतिएपछि २ जेठ ०७५ को अवस्थामा फर्किनुपर्ने अडानसहित २३ फागुन २०७७ यता एमालेमा भएका सबै निर्णय फिर्ता लिनुपर्ने पक्षमा छन्।
तर माओवादी छाडेर एमालेमा आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितलाई केन्द्रीय कमिटीमा राखिसकेका कारण ओली उक्त निर्णयबाट पछि हट्न चाहिरहेका छैनन्। जसका कारण एमाले विभाजनको लयमा हिँडेको छ।
कार्यदल गठन भई समाधानको मध्य विन्दु के हुन सक्ला?
एक नेता भन्छन्,‘पार्टी सामूहिकतामा चल्ने भएका कारणले विधिअनुसार चल्नुपर्छ। विधि त अध्यक्ष र नेता नेपाल दुवैले मिचेका छन्। त्यसमा सच्चिनुपर्छ।’
अदालतले पार्टी व्युँताए पनि माओवादी केन्द्रसँग बैठकमा बसेको, प्रधानमन्त्री हटाउनका लागि पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाँठ गरेको तथा समानान्तर गतिविधि गरेको विषयमा नेता नेपालले नेतृत्वका हिसाबले जिम्मेवारी लिँदै आत्माआलोचना गर्दा एक तहमा ओलीसँग रहेको ‘इगो’ अन्त्य हुनेछ।
यस्तै, पार्टीका सबै गतिविधिमा नेपाल समूहलाई समेट्दै कारबाही फुकुवा गरी बैठकहरु पार्टी कार्यालयमा गर्ने सहमति अध्यक्ष ओलीका तर्फबाट हुँदा एक तहको मिलन विन्दु भेटिन सक्ने नेताहरूको बुझाई छ।
यसैगरी एमाले विधान परिवर्तनको निर्णयमा ओली ब्याक हुने र माओवादी छाडी आएका बादलसहितका नेतालाई केन्द्रीय कमिटीमा राख्दै जिम्मेवारी दिने सहमति नेपालका तर्फबाट भए एमाले फुटबाट जोगिन सक्ने सम्भावना रहेको बताइन्छ।
उच्च स्रोतले भन्यो,‘यहाँ इगोका कुरो महत्व छ। दुवै नेताले आफ्नो ठाउँमा जे जसरी भाषणबाजी गरी एकअर्कालाई नंग्याउने काम भएको छ त्यसमा क्षमा माग्नुपर्छ। पूर्ववत् जिम्मेवारीमा सबैलाई ल्याउने हो भने बादलसहितका नेताको व्यवस्थापन अनिवार्य हुनुपर्छ।’
ओलीले केन्द्रीय कमिटीमा राखेका २३ जनालाई सदर गर्ने, स्थायी कमिटीमा राखेका नेता पनि मान्य हुने लिखित सहमति नेपालका तर्फबाट तथा विधान परिवर्तन गर्ने निर्णय फिर्ता गरे एमाले मिल्न सक्छ।
यस्तै आगामी महाधिवेशनको मिति तोकी सहमतिमा ओलीले नेता नेपाललाई अध्यक्ष दिने र आफू बरिष्ठ नेताको हैसियतमा काम गर्ने सहमति गरे विवाद समाधान हुन सक्ने कतिपयको आँकलन छ। ‘यी विषय कार्यदलले सुझाव दिएर दुई नेता सहमतिमा आए एमाले विभाजन पनि रोकिनेछ, सरकार पनि एमालेको कायम हुनेछ’, उच्च स्रोतले भन्यो।

