

हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

काठमाडौं – गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा।खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।
वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

