

अक्सिजन नपाएर बाटोमै बिते संसद सचिवालयका उपसचिव खनाल

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाँदै गर्दा उनको क्रममा मृत्यु भएको हो।
घरमै आइसोलेसनमा बसेका चन्द्रागिरी–१२ हरियाली निवासी खनाललाई बिहीबार कोरोना संक्रमण भएको थियो। शुक्रबार बिहान ४ बजे अचानक अक्सिजनको मात्रा कमि भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
‘ढिलोगरी आएको एम्बुलेन्समा अक्सिजन नभएको कारण उपसचिव खनालको बाटोमै मृत्यु भएको हो,’ चन्द्रागिरीका स्थानीय तथा सञ्चारकर्मी रोशन दानीले अनलाइनन्यूज७ सँगको कुराकानीमा भने।
यता संसद सचिवलायका सूचना अधिकारी दशरच धमलाले खनालको मृत्यु भएको पुष्टि गरे। ‘यसअघि नै उहाँ बिरामी हुनुहुन्थ्यो। उपचार गराइरहनुभएको थियो,’ धमलाले भने, ‘बिहीबार प्रतिनिधिसभाका ४ जना सांसद र ३ जना कर्मचारीमा कोरोना देखिएकोमध्ये उहाँ पनि एकजना हो।’
२७ वैशाखमा बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो।
संसद सचिवालयका कार्यरत खनालले अक्सिजन नपाएर मृत्युवरण गर्नपर्यो भने सामान्य नागरिकले झनै कहाँबाट पाउलान् यो महामारीमा अक्सिजन? यस विषयसमा सरकार किन मौन छ?

