

महामारीको रोकथाममा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएमा उपचार खर्च प्रदेश सरकारले व्यहाेर्ने

काठमाडाैं – कोभिड-१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च प्रदेश २ सरकारले व्यहोर्ने भएको छ।
कोभिड-१९ को दोश्रो लहरले भयावह रूप लिएपछि बसेकाे प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले उपचारमा खटिने जनशक्तिको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो।
अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन्। उनीहरूको मनोबल बढाउन यस्तो निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै, भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेशभित्रका निजी अस्पताललाई सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याइने भएको छ।
त्यसका लािग प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ।
यसका साथै, प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्न लगाउन निर्णय गरेको छ।
मुख्यमन्त्री लालबावु राउतको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, प्रमुख सचिवका साथै प्रदेशमा सचिव, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका पदाधिकारीको उपस्थिति थियो।

