
अमेरिकालाई उत्तर कोरियाको चुनौतीः निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने चेतावनी
उत्तर कोरियाले आइतवार अमेरिकालाई निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले हालैको सम्बोधनमा उत्तरलाई सुरक्षा खतरा भनेको र उसका विरुद्ध शत्रुवत् व्यवहार जारी राखेर निकै ठूलो गल्ती गरेको उत्तरको चेतावनी छ ।
गत साता बाइडनले संसदमा सम्बोधन गर्दै उत्तर कोरिया र इरानका आणविक कार्यक्रमहरू अमेरिका तथा विश्व सुरक्षाका लागि गम्भीर जोखिम भएको र यी समस्याहरूलाई कूटनीति तथा निवारणको सहायता लिएर सम्बोधन गर्ने बताएका थिए ।
‘उनको बयानले उनी उत्तर कोरियाविरुद्ध शत्रुतापूर्ण नीति जारी राख्ने स्पष्ट पारेको छ,’ उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी क्वोन जोङ गुनले बताए ।
‘अमेरिकाका प्रमुख कार्यकारीले अहिलेको परिस्थितिमा निकै ठूलो भूल गरेका छन्,’ क्वोनले बताए । ‘अमेरिकाले उत्तर कोरियाका विषयमा सार्वजनिक गरेको नीति स्पष्ट भएको अवस्थामा हामी त्यसअनुरूपको व्यवहार गर्न बाध्य भएका छौं र अमेरिकाले आफूलाई गम्भीर परिस्थितिमा पाउनेछ ।’
क्वोनले उत्तर कोरियाको कदम कस्तो हुनेछ भनी खुलाएनन् । उनको भनाइलाई बाइडन प्रशासनमाथि दबाब दिने प्रयासका रूपमा हेरिएको छ ।



कागजपत्र |
