कैलाली प्रहरीको हिरासतमा रहेका २० थुनुवालाई कोरोना पुष्टी, बिहीबारदेखि निषेधाज्ञा


कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।

थुनामा रहेका ६४ जनाको स्वाब आइतबार संकलन गरी पठाइएकोमा रिपोर्ट आउँदा २० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमण देखिएका थुनुवाहरुलाई छुट्टै कोठामा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विभिन्न मुद्दामा थुनामा परेका उनीहरुलाई थुनुवा कक्षमा नै राखिएको र अन्य थुनुवासँग सम्पर्क नहुने गरी राख्ने व्यवस्था मिलाइएको पनि प्रहरीले जनाएको छ ।

यसका साथै कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको छ ।

 

प्रतिक्रिया